बाग्मती सफाइमा उपलब्धि भए पनि सफलतामा नपुगेको भनाई

बाग्मती सफाइ महाअभियानका अभियन्ताहरूले सफाइमा केही उपलब्धि हासिल भए पनि सफलता प्राप्त भइनसकेको जनाएका छन् । महाअभियानले आज यहाँ आयोजना गरेको १०० हप्ते मानव हातेमालोको समीक्षा कार्यक्रममा शनिबार सुन्दरीजलदेखि चोभारसम्मको २८ किमिमा सम्पन्न गरिएको मानव साङ्लोका कमीकमजोरी र राम्रा पक्षका बारेमा समीक्षा गरिएको थियो । कार्यक्रममा महाअभियानका अभियन्ता एवम् नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेलले बाग्मती सफाइलाई निरन्तरता दिनुपर्ने धारणा राख्न्ुभयो । उहाँले नदीको मुहान क्षेत्र सुन्दरीजलमै फोहर व्यवस्थापन गर्न अझै बाँकी रहेको बताउँदै ‘‘अब कसैले नदीमा सिधै ढल वा फोहर हालेको जानकारी भएमा अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले कारबाही गर्नेछ भन्नुभयो ।” जोरपाटी क्षेत्रमा अतिक्रमित बाग्मतीको जग्गामा बगैँचा बनाउने कामको नेतृत्व गर्न पनि समितिलाई मुख्यसचिव पौडेलले निर्देशन दिनुभएको थियो । वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेलले बाग्मती सफाइका लागि सरकारले वैशाख १ गतेदेखि प्लास्टिक झोला निषेध गर्न लागेको बताउनुभयो । उहाँले प्लास्टिक झोलाको विकल्पमा ३७ थरि झोला बजारमा आउन लागेको छ, वैशाख १ गतेपछि प्लास्टिक झोला बोकेर हिँड्नेलाई अनुगमन गरी कारबाही गर्ने व्यवस्था मिलाएका छौँ” भन्नुभयो । सिँचाइ मन्त्रालयका सचिव माधव रेग्मीले घरघरबाट निस्कने फोहरमैलाको व्यवस्थापन घरमै नभएमा बाग्मती सफाइ नहुने भएकाले यसतर्फ जनचेतनामूलक कार्यक्रम लिएर महाअभियान अगाडि बढ्नुपर्ने बताउनुभयो । जल तथा ऊर्जा आयोगका सचिव गजेन्द्र ठाकुरले महाअभियानको १०० हप्ते कार्यक्रममा सरकारी कोषबाट खर्च नगरिएको बताउनुभयो । “सामाजिक सङ्घसंस्थाबाट सबै आवश्यक सामग्री र खर्च सहयोगस्वरुप प्राप्त भएको छ”–सय हप्ते कार्यक्रम सचिवालयका संयोजकसमेत रहनुभएका सचिव ठाकुरले भन्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजकुमार भट्टराईले अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिमा व्यापक भ्रष्टाचार भएका हल्ला चल्ने गरेकाले यससम्बन्धी श्वेतपत्र जारी नगरे महाअभियानमै धक्का पर्न सक्ने बताउनुभयो । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टण्डनले १०० हप्ते मानव साङ्लोको सफलतालाई दिगो राख्न दण्ड सजायको व्यवस्था सहरबाटै गरिनुपर्ने बताउनुभयो । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष शेष घलेले बाग्मती सफाइको १०० हप्ते अभियानबाट नेपाली समाजले परिवर्तन खोजिरहेको सन्देश आएकाले यसलाई निरन्तरता दिइनुपर्ने बताउनुभयो । कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक मधुसूदन बुर्लाकोटी, गायत्री परिवारका डा राजु अधिकारी, जीवन विज्ञानका एलपी भानु शर्मा, गोकर्ण–सुन्दरीजल बाग्मती सरोकार समितिका संस्थापक अध्यक्ष केशवप्रसाद पुडासैनी, तिलगङ्गा महिला समूहकी अध्यक्ष आशा पाण्डे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष दिनेश भण्डारीलगायत अभियन्ताले बाग्मती पूर्णरूपमा सफा नभएसम्म महाअभियान जारी रहने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।