बागमती सफाई अभियान सय हप्तामा, एक लाख १० हजार सहभागी भएको सरकारको भनाइ


sanglo safaiबाग्मती सफाइ महाअभियान भव्यताका साथ सम्पन्न भएको छ । अभियान सुरु भएको १०० हप्ता पुगेको अवसरमा सरकारले आज सबै वर्ग तथा क्षेत्रलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको थियो । अभियानलाई विशेष बनाउन ‘महाअभियान’को नाम दिइएको थियो । महाअभियानमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष, प्रधानन्यायाधीश, उपप्रधानमन्त्री, मन्त्रीगण, प्रमुख राजनीतिक दलका शीर्ष नेता, विभिन्न राजनीतिक दलका नेता, सभासद्, सामाजिक सङ्घ–संस्था, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मीको सहभागिता रहेको थियो । सुन्दरीजलदेखि चोभारको सुन्दरीघाटसम्मको कुल २८ किलोमिटर क्षेत्रमा मानव साङ्लो बनाइएको थियो । उपराष्ट्रपति परमानन्द झा गुह्येश्वरी क्षेत्रमा सहभागी भई महाअभियानमा हौसला प्रदान गर्नुभएको थियो । महाअभियानमा सक्रिय सहभागी भई उहाँले अभियान निरन्तर रुपमा अगाडि बढाउन शुभेच्छा व्यक्त गर्नुभएको थियो । यस्तै प्रधानमन्त्री कोइराला पवित्र पाशुपत क्षेत्र तिलगङ्गामा सहभागी हुनुभएको थियो । प्रधानन्यायाधीस रामकुमारप्रसाद साह पनि महाअभियानमा सहभागी हुनुभएको थियो । यस्तै उपप्रधानमन्त्री प्रकाशमान सिंह थापाथली क्षेत्रमा सहभागी हुनुभएको थियो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल सानेपा, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली थापाथली, वरिष्ठ नेता झलनाथ खनाल बल्खु, अर्का नेता माधवकुमार नेपाल शङ्खमुल पुलनजिकको क्षेत्रमा सहभागी हुनुभएको थियो । यस्तै एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेता तीनकुने क्षेत्रमा खट्नु भएको थियो । संविधानसभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङ प्रमुख तीन राजनीतिक दलका प्रमुख सचेतक र सभासद्सहितको टोलीको नेतृत्व गर्दै कुपन्डोल क्षेत्रमा सक्रिय हुनुभएको थियो । अभियानमा सहभागी शीर्ष नेताले महाअभियानमा जस्तै संविधान निर्माणमा समेत एकीकृत भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । के वृद्धा, के बालक, के कर्मचारी, के सञ्चारकर्मी सबैको सक्रिय सहभागिता रहेको अभियानले राष्ट्रिय एकताको सञ्चार गरेको थियो । बिहान ६.१५ देखि ७.१५ सम्म उपस्थित हुने समयसिमा रहेको भएपनि अभियान अन्त्य हुने बेलासम्म पनि सहभागी हुनेको सङ्ख्या उल्लेख्य रहेको थियो । राष्ट्रिय झण्डा फहराउँदै सहभागी भएका जनसाधारणले बाग्मती नदीलाई सफा राख्ने, फोहोर नफाल्ने तथा संरक्षण गर्ने प्रतिबद्धता जनाएका थिए । बाग्मती नदी किनारको दुवैतर्फ मानव साङ्लोमा सुत्रवद्ध भएका काठमाडौवासीले बाग्मतीको विगतको स्वरुप फिर्ता ल्याउने सङ्कल्प समेत गरेका थिए । केही सहभागी भने तस्विर खिच्दै सामाजिक सञ्जालमा राख्न व्यस्त देखिन्थे । सफाइ अभियानमा सहभागी हुने त सक्रियतापूर्वक जुटेका थिए भने रमितेको भीड पनि उस्तै रहेको थियो । अभियानका अभियन्ता एवम् नेपाल सरकारका मुख्यसचिव लीलामणि पौड्यालले साँझ सहभागी सबैलाई एक प्रेस विज्ञप्तिमार्फत धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले अभियानमा करिव एक लाख १० हजारभन्दा बढीको सहभागिता रहेको बताउनुभएको छ । अभियान ९९ हप्तासम्म अनवरत रुपमा करिब तीन लाख स्वयंसेवीहरूले आफ्नो सहभागिता जनाएका थिए भने सो कार्यले उपत्यकावासीलाई नदीसँग जोडेको छ । यो अभियान एउटा एकताको पहिचान र सभ्यताको चिनारी भएको छ । व्यापक जनसहभागिताबाट सरसफाइप्रति सवैको प्रतिवद्धता व्यक्त गरेको छ । अभियान निरन्तर जारी रहने र मन, वचन र कर्मले निरन्तर रुपमा उपत्यका र देशभरीकै सरसफाइमा सङ्लग्न भइरहने प्रतिवद्धता समेत मुख्यसचिव पौड्यालले व्यक्त गर्नुभएको छ ।
वाग्मती सफाइ चुनौतीपूर्ण
वाग्मती सफाइ अभियानले एक सय हप्ता पूरा गरे पनि वाग्मती नदीलाई स्वच्छ र सफा गर्ने मूल लक्ष्य अझै चुनौतीपूर्ण रहेको छ । सो महाअभियानबाट जनताको सहभागिता क्रमशः बढ्दै गए पनि बाग्मती नदीका धेरै खण्डमा अझै ढल मिसिएको दुर्गन्धित पानी देख्न सकिन्छ । नदीको पानीमा ढल मिसिएका कारण काठमाडौँको प्रसूति गृह पछाडि रहेको कोपुण्डोल खण्डको नदी क्षेत्र दुर्गन्धित अवस्थामा रहेको छ र त्यस क्षेत्रका बासिन्दा र आवतजावत गर्ने सर्वसाधारणले दुर्गन्ध भोग्नु परिरहेको अवस्था छ । महाअभियानमा सहभागी अधिकांश सर्वसाधारण काठमाडौँको घरघरबाट निस्कने मलमुत्र मिसिएको ढललाई रोक्न नसकेसम्म यो अभियान सफल नहुने विचार व्यक्त गर्दछन् । नेपालले पनि प्रविधिको विकास गरेर नदीमा रहेको ढल मिसिएको पानीलाई पुर्ननिर्मलीकरण गरी प्रयोग गर्नुपर्ने उनीहरूको सुझाव छ । कुपोण्डोलपछाडि महाअभियानमा संलग्न स्थानीय रामप्रसाद श्रेष्ठले भन्नुभयो–‘‘सबैभन्दा पहिले सरकारले घरघरबाट निस्कने मलमुत्रयुक्त ढललाई नियन्त्रण गरी व्यवस्थित गर्नुपर्छ । अनि मात्र अभियानको उद्देश्य पूरा हुन्छ ।’’ नदीको पानी पुर्ननिर्मलीकरण गरी व्यवस्थापन गरेमात्र समस्याको दीर्घकालीन समाधान हुने धारणा अर्का सहभागी श्याम खतिवडाको थियो । यो अभियानलाई सय हप्तामा सीमित नगरी निरन्तर जारी राख्नुपर्र्ने उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]