एमाले नेता ढकालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने


dhakalस्वाइन फ्लुका कारण अस्वस्थ भई गत साता अस्पताल भर्ना हुनुभएका नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा लुम्बिनी अञ्चल इञ्चार्ज रामनाथ ढकालको निधन भएको छ । यही चैत १४ गतेदेखि धापासीस्थित गम्भीर अवस्थामा ग्राण्डी अस्पतालमा उपचार गराइरहनुभएका नेता ढकाललाई आज दिउँसो १ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । ढकाललाई चैत १५ गते थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारतको नयाँदिल्ली लाने तयारी भए पनि मौसमको प्रतिकूलताका कारण यही उपचार गराइएको थियो । नेता ढकालप्रति अन्तिम श्रद्धाञ्जलिका लागि उहाँको शवलाई सोमबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय, बल्खुमा राखिने एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । ढकालको दाहसंस्कारको समय र स्थान भने तय भइसकेको छैन । ढकाल अघिल्लो संविधानसभामा राज्य व्यवस्था समितिका सभापति पनि हुनुहुन्थ्यो । यसैबीच प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले नेता ढकालको असामयिक निधनमा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । मिलनसार नेताको असामयिक निधनको खबरलाई यतिबेला धेरैले पत्याउन सकेका छैनन् ।
एमाले मर्माहत
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य रामनाथ ढकालको निधनले सिङ्गो पार्टी स्तब्ध, मर्माहत र शोक विह्वल भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । स्वाइन फ्लुबाट पीडित ढकालको आज दिउँसो ग्राण्डी अस्पतालमा उपचारका क्रममा दुःखद निधन भएको थियो । उहाँ ५२ वर्षको हुनुहुन्थ्यो । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा ढकाल विगत केही समययता क्षयरोग र लिम्फोमा विरुद्ध सङ्घर्षरत रहनुभएको तथा चिकित्सकको अथक प्रयासका बीच उपचारका क्रममै भएको दुःखद निधनले सिङ्गो पार्टी असाध्यै मर्माहत भएको जनाइएको छ । दुःखको यस घडीमा एमाले केन्द्रीय कार्यालय ढकालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
यस्तो थियो ढकालको राजनीतिक यात्रा
विसं २०१९ पुस ५ गते गुल्मी जिल्ला खड्गकोट गाविस वडा नं ३, उपल्लो कोरेङमा बुबा दीनानाथ शर्मा ढकाल र आमा देवकला शर्मा ढकालका ज्येष्ठ सुपुत्रका रूपमा जन्मनुभएका ढकाल एमालेका जुझारु युवा नेता हुुनुहुन्थ्यो । विसं २०३७ मा अनेरास्ववियुको गुल्मी जिल्ला कोषाध्यक्षका रूपमा लोकतान्त्रिक आन्दोलनमा होमिनुभएका उहाँ सङ्गठनका विभिन्न जिम्मेवारी सम्हाल्दै अनेरास्ववियुको केन्द्रीय अध्यक्ष निर्वाचित हुनुभयो र विद्यार्थी आन्दोलनको चर्चित र अग्रणी नेताका रूपमा स्थापित हुन सफल हुनुभयो । विसं २०४० सालमा नेकपा (माले) को पार्टी सदस्यका रूपमा कम्युनिस्ट आन्दोलनमा संलग्न उहाँले पार्टीको लुम्बिनी अञ्चल सचिव तथा अञ्चल इञ्चार्जको जिम्मेवारी बहन गर्नुभएको थियो । सातौँ महाधिवेशनपछि केन्द्रीय सदस्य रहनुभएका ढकाल नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा पुनः निर्वाचित हुनुभएको थियो र हाल उहाँ पार्टी पोलिटब्युरो सदस्य र लुम्बिनी अञ्चल इञ्चार्जको जिम्मेवारीमा हुनुहुन्थ्यो । पञ्चायतकालमा पटक–पटक प्रहरी प्रशासन र अन्य पक्षबाट उहाँमाथि साङ्घातिक आक्रमण पनि गरिएको थियो । विसं २०५१ सालमा गुल्मी–१ बाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित उहाँले विकासप्रेमी, सक्रिय र प्रभावकारी सांसदका रूपमा आफ्नो विशिष्ट छाप छाड्न सफल हुनुभएको एमालेले जनाएको छ । विसं २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनमा रूपन्देही क्षेत्र नं ५ बाट विजयी उहाँले व्यवस्थापिका–संसद्मा राज्य व्यवस्था समितिको सभापतिका रूपमा निर्वाह गर्नुभएको भूमिका संसदीय इतिहासमा सदैव स्मरणीय रहने एमालेको ठहर छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]