झापाकी सन्ध्या राजवंशीलाई सामूहिक बलात्कार गरी हत्या गर्नेहरु १४ वर्षपछि पक्राउ


rapeसामूहिक बलात्कार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय पाएका फरार अभियुक्त झापा चन्द्रगढी–३ का मनोज खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४ वर्षपछि काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको छ । २०५७ असोज २९ गते साँझ झापा चन्द्रगढी नगरपालिका–३ की सन्ध्या राजवंशीको सामूहिक बलात्कारपछि घाँटी थिची हत्या गरेको कसुरमा संलग्न खड्कालाई ब्यूरोले फैसला कार्यान्वयनको सिलसिलामा पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा पेस गरेको व्युरोले जनाएको छ । अभियुक्त खड्कासहित सिताराम बस्नेत र अर्का एकजना हाल फरार रहेका व्यक्तिसमेत तीनजनाले सन्ध्यालाई घुम्न जाने बहानामा बोलाई नजिकैको चारआली जङ्गलमा लगेर बलात्कार गरी घाँटी थिची हत्या गरेका थिए । उनीहरुले घटनालाई आत्महत्या गरेको देखाउन मृतकको घाँटीमा डोरी लगाई बकैनाको रुखमा शव झुण्डाएका थिए । कर्तव्यज्यान मुद्दामा पुनरावेदन अदालत इलामको २०५८ चैत २८ को फैसलाले अभियुक्तहरुलाई सफाई दिने गरी गरेको फैसलामाथि परेको पुनरावेदनमा सर्वोच्च अदालतले २०६६ भदौ २९ मा घटनामा संलग्न तीनैजनालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्मकैदको सजाय हुने गरी फैसला गरेको थियो । घटनामा संलग्न सितारामलाई ब्यूरोले गत मङ्सिर १७ गते कोटेश्वर काठमाडाँैंमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेपछि हाल केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]