अर्को शनिबार वागमती सरसफाइ महाअभियानमा ६० हजार व्यक्तिको मानव साङ्लो बन्ने

वागमती सरसफाइ महाअभियानको सयाँै हप्तामा काठमाडौँको सुन्दरीजलबाट सुन्दरीघाटसम्मको वागमती किनारामा यही चैत २८ गते शनिबार ६० हजारभन्दा बढी सर्वसाधारण सहभागी हुने मानव साङ्लो निर्माण गरिने भएको छ । दिन प्रतिदिन दुर्गन्धित बन्दै गएको वागमतीलाई सफा बनाउने महाअभियान वि.सं.२०७० जेठ ५ गते शनिबारदेखि सुरु भएको सय हप्ता पुगेको अवसर पारी मानव साङ्लो निर्माण गर्न लागिएको हो । सुन्दरीजलबाट सुन्दरीघाटसम्मको २८ किलोमिटर वागमती नदी किनारामा दुबैतिर मानव साङ्लो निर्माण गरी वागमती सफाइका लागि सामूहिक प्रतिबद्धता व्यक्त गरिनेछ । महाअभियानका सम्बन्धमा जानकारी गराउने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मुख्य सचिव लीलामणि पौड््यालले सरसफाइ आफ्नै लागि हो भन्ने सर्वसाधारणमा चेतना अभिबृद्धि गर्नु आवश्यक भएको बताउनुभयो । महाअभियानको सम्बन्धमा जानकारी गराउँदै उहाँले भन्नुभयो, “सरसफाइ सभ्यताको पहिलो सूचक हो । महाअभियान समाजप्रतिको व्यक्तिको उत्तरदायित्वबोधका साथै आफ्नै लागि मात्रै गर्ने मानसिकताविरुद्धको अभियान पनि हो ।” वागमती सरसफाइ महाअभियानका कारण पछिल्ला समयमा काठमाडौँका १३ भन्दा बढी स्थानमा साप्ताहिक सरसफाइको कार्यक्रम पनि चलिराखेको र देशका विभिन्न भागमा यसको प्रभाव परेको उहाँको भनाइ छ । जल तथा ऊर्जा आयोगका सचिव गजेन्द्र ठाकुरले वागमती सरसफाइ महाअभियान वर्तमान अवस्थासम्म आइपुग्दा यसमा ९५९ संस्थाहरू तथा दुई लाख ८० हजार व्यक्ति सहभागी भएको र करिब २,८०० मेट्रिक टन फोहोर वागमतीबाट निकालिसकिएको जानकारी गराउनुभयो । अभियानका अभियन्ता डा राजु अधिकारीले महाअभियानको सुरुमा वागमतीको सरसफाइ असम्भव भन्नेहरूमा पनि पछिल्ला समयमा गरेपछि हुँदो रहेछ भन्ने भावना जागृत हुनसक्नु सकारात्मक पक्ष भएको बताउनुभयो । उहाँका अनुसार मानव साङ्लो निर्माणका लागि सुन्दरीजलदेखि सुन्दरीघाटसम्मका वागमती नदीका दुवै किनारामा विभिन्न १४ वटा क्षेत्रहरू तय गरिएका छन् । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका पदाधिकारी तथा प्रतिनिधिहरूले वागमती सरसफाइ महाअभियानको सफलता सबैको सहयोगमा सम्भव हुने भएका कारण यसको प्रचारप्रसारमा आआफ्नातर्फबाट सक्रिय सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।