हेटौंडामा गैंडा आतंक, मुख्य बजारमै गैंडा दौडिन थालेपछि भागाभाग, एक महिलाको मृत्यु

हेटौंडामा गैंडा आतंक, मुख्य बजारमै गैंडा दौडिन थालेपछि भागाभाग, एक महिलाको मृत्यु चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको एक गैँडाले हेटौँडा उपनगरपालिका–६ चौघडाको रानीवनमा घाँस काट्न हिँडेकी एक महिलालाई आक्रमण गर्दा मृत्यु भएको छ । गैँडाको आक्रमणबाट मृत्यु हुने महिला हेटौँडा उपनगरपालिका–६ निवासी ६१ वर्षीया हरिमाया दाहाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो गैँडाले हेटौँडा नगरको विभिन्न स्थानका सडकमा भागदौड गर्ने क्रममा आक्रमण गर्दा छजना मानिस घाइते भएका छन् । ती घाइतेमध्ये हेटौँडाको चौघडा बस्ने रूपनारायण धिमालको थप उपचारका लागि चितवनको भरतपुर शिक्षण अस्पतालमा पठाएको प्रहरीले जनाएको छ । अन्य पाँच जना घाइतेको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको बताइएको छ । हेटौँडा उपनगरपालिका–९ लामसुरे डाँडामा आज बिहान ७ बजे देखापरेको सो गैँडाले हेटौँडा औद्योगिक क्षेत्र हुँदै पूर्वक्षेत्रको कमाने–नागस्वती, गौरीटार, चौघडा, पिप्ले, कान्ति राजपथ, बुद्धचोक एवम् हेटौँडा अस्पताल परिसर गरी करिब १८ किमी भागदौड गर्दै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सो गैँडा अहिले हेटौँडा अस्पताल परिसरबाट निस्केर बसपार्क हुँदै सामुदायिक आँखा अस्पताल परिसरमा पसेको बताइएको छ ।