प्रा डा गोविन्द केसीको स्वास्थ्यस्थिति जटिल, रक्तचाप कम भयो

चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै नौ दिनदेखि अनशनरत त्रिविवि शिक्षण अस्पताल हाडजोर्नी विभागमा कार्यरत प्रा डा गोविन्द केसीको स्वास्थ्यस्थिति जटिल बनेको छ । उहाँको स्वास्थ्यमा उपचाररत प्रा डा दिव्यसिंह शाहले अनशनस्थलमा डा केसीको स्वास्थ्यका बारेमा सञ्चारकर्मीलाई दिनुभएको जानकारीअनुसार डा केसीलाई जुनसुकै समयमा पनि सघन उपचारकक्ष (आइसियु)मा लगी उपचार गर्नुपर्ने अवस्था आउन सक्छ । तर डा केसीले भने आफूलाई आइसियुमा लगी उपचार नगर्न आफ्ना सहयोगीहरूलाई भन्नुभएको छ । डा शाहले डा केसीको पिसाबमा एसिटोन, कम रक्तचाप (लो ब्लड प्रेसर), कमजोर मांसपेशी तथा रक्तनली, टाउको दुख्ने, रिङ्गटा लाग्ने लक्षण देखिएको छ । डा शाहका अनुसार डा केसीको रक्तनली कमजोर हुँदै जाँदा यसले मस्तिष्क, मुटु तथा मिर्गाैलालाई प्रत्यक्ष असर पु¥याउन सक्छ । जुनसुकै समयमा यसको असर देखिन सक्छ । त्यसैले समय–समय इसिजीका मार्फत मुटु र मस्तिष्क परीक्षण हुँदै आएको छ । “नौ दिनदेखि खाना नखाँदा मधुमेह (सुगर) बढिरहेको छ, यसलाई नियन्त्रण गर्न स्लाइन पर्याप्त नहुन सक्छ,” डा शाहले भन्नुभयो – “हामीले डा केसीलाई कम बोल्न सुझाव दिइरहेका छौँ तर मानिरहनुभएको छैन, दैनिक बोलीमा स्पष्टता पनि आउन छाडेको छ ।” डा केसी आफ्नो अनशनलाई ऐक्यबद्धता जनाउन आउनुहुनेलाई आफ्ना माग र अडानका बारेमा स्पष्ट गर्दै आउनुभएको छ । बिहानमात्र भेट गर्नुभएका एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई करिब पाँच मिनेट आफ्ना मागबारे जानकारी गराउनुभएको थियो । अनशन सुरु गरेपछि उहाँले धेरैबेर नेकाका उपसभापति रामचन्द्र पौडेल, एमालेका सचिव योगेश भट्टराई र मुख्य सचिव लीलामणि पौडेलसँग कुराकानी गर्नुभएको उहाँका हेरचाहमा जुटेका चिकित्सकले जानकारी दिएका छन् । यसैबीच, उहाँको मागप्रति सरकार संवेदनशील नदेखिएको भन्दै उपत्यकाभित्रका विभिन्न चिकित्सा शास्त्र अध्ययन गरिरहेका विद्यार्थीले आज प्रधानमन्त्री निवास बालुवाटार घेराउ गरेका छन् । डा केसीको माग पूरा गर, चिकित्सा क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य गर, बिनापूर्वाधार नयाँ चिकित्सा अध्ययन कोटा वितरण नगर, अध्ययन अनुमति दिएका चिकित्सा कलेजको अनुगमन गरजस्ता नारा लेखिएको प्ले कार्ड बोकी उनीहरू बालुवाटारमा धर्नामा बसेका थिए । डा केसीको अनशनप्रति ऐक्यबद्धता जनाउन आजै नेकपा माओवादीका नेता चन्द्रप्रकाश गजुरेल अनशनस्थलमा पुग्नुभएको थियो । सो अवसरमा उहाँले डा केसीका माग जायज रहेको प्रतिक्रिया दिनुभएको थियो । राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले पनि डा केसीलाई भेट गर्नुभएको थियो ।