अष्ट्रेलियन लिवरल फ्रेण्डस अफ नेपालको घोषणा, अध्यक्षमा श्री नापित

अष्ट्रेलियन लिवरल पार्टीको शाखाका रुपमा लिवरल फ्रेण्ड्स अफ नेपाल गठन भएको छ । यसको औपचारिक जानकारी पत्रकार सम्मेलनको आयोजना गरी गराइएको हो । लिवरल फ्रेण्डस् अफ नेपालको नेतृत्व सिड्नीका नेपाली समूदायका अगुवा श्री नापितले गर्नुहुने भएको छ । आइतबार कोग्रामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बताइए अनुसार यो संगठन सत्तारुढ लिवरल पार्टीको एउटा विभाग नै हुनेछ । यसको संरक्षकमा संघीय मानवीय सेवा मन्त्री तथा सिनेटर मोरिस पेइनी छन् भने लिवरल पार्टी इलेक्ट्रोरल एसिस्टेन्ट कमिटी अध्यक्ष रोबट ओरल सल्लाहकार छन् । पत्रकार सम्मेलनमा बोल्दै लिवरल फ्रेण्डस अफ नेपालका अध्यक्ष श्री नापितले नेपालबाट आएर अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरु र लिबरल पार्टीका नेताहरुबीचको दूरीलाई घटाउने र लिबरल पार्टीका नेताहरुलाई नेपाल र नेपालीहरुको बारेमा ज्ञान दिने उद्देश्यले संस्था खोलिएको बताउनुभयो । यस्तै संगठनले नेपाल र अष्ट्रेलियाबीचको दौत्य सम्बन्ध मजबुत बनाउने, लिबरल सिद्धान्तलाई समर्थन गर्नेहरुको एउटा साझा मञ्चको रुपमा काम गर्नेछ । नापितका अनुसार यसैगरी अघि बढ्दा भोलि लिबरल पार्टीले नेपाली समूदायलाई पनि विस्तारै अघि बढ्न मद्दत गर्नेछ । लिवरल फ्रेण्डस अफ नेपालका अन्य पदाधिकारीहरुमा न्यू साउथवेल्सको दक्षिण क्षेत्रबाट विवेक थापा, उत्तर पश्चिम क्षेत्रबाट विजय फुयाल, इनर वेष्ट क्षेत्रबाट निरज श्रेष्ठ, पश्चिम सिड्नीबाट डा. घनश्याम चापागाई, पूर्वी सिड्नी क्षेत्रबाट भीम खरेल र युवा पुस्ताको तर्फबाट प्रमेज श्रेष्ठ रहेका छन् । लिबरल पार्टीको न्यू साउथवेल्सको वार्षिक साधारणसभामा क्रिस डाउनीले लिबरल फ्रेण्डस अफ नेपाल घोषणा गरेका थिए । उनी लिबरल पार्टीका न्यू साउथ वेल्स प्रमुख हुन् ।
यो उपलब्धीका विषयमा एमएनटीभीको जिज्ञासामा संयोजक नापितले भन्नुभयो, “मैले यसलाई ठूलै उपलब्धी हो भनेर लिएको छु । यो एउटा संगठनको रुपमा अघि बढ्छ । नेपालीहरुले नेपालको राजनीतिलाई भन्दा पनि यहाँ अष्ट्रेलियाको राजनीतिमा संलग्न हुनु राम्रो हुन्छ । यस पुस्ताको लागि पनि र दोस्रो पुस्ताको लागि पनि । त्यसैले अहिले नै जुटौं भनेको हो । स्थानीय राजनीतिमा सहभागिताको यो गतिलो खुड्किलो हो । र, सम्बन्ध विस्तारले समूदायलाई सहयोग नै गर्छ ।”
तस्वीर सौजन्य, नेपालीपत्र