सार्थक वार्ता गर्न सभामुखको दलका नेताहरुलाई सुझाव, संविधानसभाको बैठक धेरै समय स्थगित गर्न नसकिने

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले परिणाम निस्कने गरी सार्थक संवाद गर्न शीर्ष नेताहरूलाई फेरि आग्रह गर्नुभएको छ । गिरिजाप्रसाद कोइराला स्मृति सामुदायिक कलेजको दोस्रो स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उहाँले प्रमुख राजनीतिक दलबीच ध्रुवीकरण बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै ३७ दिनदेखि सहमतिका लागि स्थगित संविधानसभाको बैठक लामो समयसम्म लम्ब्याइरहनु औचित्यपूर्ण हुँदैन भन्नुभयो । संविधानका अन्तर्वस्तुमा दलीय सहमति जुट्न नसकेपछि प्रक्रियाबाट संविधान बनाउने आफ्नो प्रस्तावलाई थाती राखेर दलहरूलाई पुनः सहमति खोज्ने अवसरका लागि अनिश्चितकालका लागि संविधानसभाको बैठक स्थगन गर्नुभएका सभाध्यक्षले लम्बिँदो राजनीतिक सङ्क्रमणबाट देशलाई समाधान दिन दल र तिनका नेताले परिणाममुखी सार्थक वार्ता गर्नैपर्ने तथा त्यसको विकल्प नरहेको दोहो¥याउनुभयो । सभाध्यक्षले सहमति कायम नभएका विषयमा २४सै घन्टा छलफल गरेर निष्कर्षमा पुग्न सत्तापक्ष र एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चालाई आग्रह गर्नुभयो । राजनीतिक दल र तिनका नेता सहमति कायम गर्न सक्षम रहेका तर त्यसो गर्न उहाँहरूले नचाहेको महसुस आफूलाई भएको बताउँदै उहाँले यही चैत ११ गते अगावै निष्कर्षमा पुग्न पुनःआह्वान गर्नाका साथै नागरिक समाज, विद्वत् वर्गलगायत सबैलाई सकारात्मक दबाब दिन अनुरोध गर्नुभयो । “प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन सक्ने दल र तिनका नेताले देशलाई निकास दिन नसक्ने कुरै हुँदैन, दुई घन्टामा सहमति गर्छौं भन्ने शीर्ष नेतृत्व किन संवादहीनताको अवस्थामा अड्किएको हो मैले बुझ्न सकेको छैन” उहाँले भन्नुभयो,“जनतासमक्ष मिलेर जान गरेका वाचा र प्रतिबद्धता भुल्नु हुँदैन ।” लोकतन्त्रका उपलब्धि संस्थागत गर्न तथा राष्ट्रलाई समृद्धिका मार्गमा अग्रसर गराउन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले देखाएको बाटामा हिँड्नु आजको आवश्यकता भएको स्मरण गराउँदै सभाध्यक्ष नेम्वाङले देशलाई सहमतिमा संविधान दिन सकेमा उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने विचार व्यक्त गर्नुभयो । कलेजलाई आर्थिक सहयोग गर्ने सभासद्द्वय ओमदेवी मल्ल (जोशी) र अशोक कोइराला, त्यहाँ अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका १२ समाजसेवीलाई उहाँले सम्मानपत्र प्रदान गर्नाका साथै कलेजले सञ्चालन गरेका विभिन्न प्रतियोगितामा सर्वोत्कृष्ट परिणाम ल्याउन सफल विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो । कलेजका अध्यक्ष एवम् सभासद् प्रा भीमसेनदास प्रधानले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर संविधान बनाउन सबै दलका नेतामा सद्बुद्धि प्राप्त होस् भन्दै कोइरालाले अधुरा छाडेका काम पूरा गर्न सबै राजनीतिक दल गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सभासद् गगनकुमार थापाले दलीय एवम् व्यक्तिगत स्वार्थका कारण संविधान लेखनमा सहमति जुट्न नसकेको बताउँदै जनयुद्धरूपी चक्रब्यूहबाट देशलाई मुक्त गर्नुभएका कोइरालाको अभाव राष्ट्रलाई आज पनि खड्किएको छ भन्नुभयो । अर्का सभासद् अशोक कोइरालाले नेता कोइरालाको दृढ प्रतिबद्धता र अडानका कारण मुलुक आजको अवस्थासम्म आइपुगेको विचार व्यक्त गर्दै गणतान्त्रिक नेपाललाई संविधान दिन नेतृत्व पङ्तिले संवेदनशील भएर लाग्नुपर्ने बताउनुभयो ।
पाँच प्रतिशत आर्थिक वृद्धि लाजमर्दाे
पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले नेता कोइरालाको नेतृत्वमा २०४८ सालमा गठित सरकारले अघि सारेका आर्थिक विकासका कार्यक्रमको चर्चा नभएकामा खिन्नता प्रकट गर्दै त्यसबेला राज्यले हासिल गरेको आठ प्रतिशतको आर्थिक वृद्धिदर आज पाँच प्रतिशतमा खुम्चनु लज्जाको विषय भएको बताउनुभयो । अर्का पूर्वमन्त्री तीर्थराम डङ्गोलले दूरदृष्टियुक्त नेता कोइरालाको अभाव सम्पूर्ण नेपाली जनताले अनुभव गरेका र उहाँको अनुपस्थितिमा देशले दुर्दशा भोग्नुपरेको दुखेसो गर्नुभयो । त्रिविका पूर्वउपकुलपति प्रा केदारभक्त माथेमाले उच्च शिक्षामा राज्यबाट पर्याप्त लगानी नभएको गुनासो गर्दै राष्ट्र निर्माणको पूर्व सर्त शिक्षालाई उपेक्षा नगर्न राज्यको ध्यानाकर्षण गर्नुभयो । कलेजका प्रमुख खिलानाथ सापकोटाले सबैको साथ र सहयोग पाएमा कलेजलाई विश्वविद्यालयमा स्तरोन्नति गर्ने आफ्नो चाहना रहेको बताउँदै त्यसनिम्ति आर्थिक एवम् भौतिक सहायता गर्न राज्यका निकाय तथा नेतागणसँग अनुरोध गर्नुभयो । दश विद्यार्थीबाट सुरु भएको उक्त कलेजमा हाल १०० विद्यार्थी अध्ययनरत छन् । व्यापार व्यवस्थापनमा स्नातक तहसम्मको अध्यापन हुने उक्त कलेजमा मासिक रु ५०० मा अध्यापनको व्यवस्था छ ।