काठमाडौं उपत्यकाका २२ ठाउँमा सडक बत्ती राखिने

काठमाडौँ उपत्यकाको अत्यधिक सवारी चापलाई ध्यानमा राखी सडक विभाग र एसियाली विकास बैंकले चार वटा करिडोरमा ट्राफिक बत्ती राख्न तयारी गरेको छ । सडक विभाग र एसियाली विकास बैंकको संयुक्त आयोजनामा आर्थिक वर्ष २०७२÷७३ को अन्त्यसम्म काम सम्पन्न गर्ने गरी बत्ती राख्ने काम अगाडि बढाउन लागेको काठमाडौँ उपत्यका दिगो सहरी विकास आयोजना प्रमुख सुरज सिग्देलले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “टेकु–सोह्रखुट्टे, त्रिपुरेश्वर–लैनचौर, भद्रकाली–दरवारमार्ग र थापाथली–जयनेपाल हलसम्म उपत्यकाका २२ स्थानमा नयाँ बत्ती राख्न लागेका छौँ ।” यीमध्ये उपत्यकामा सोह्रखुट्टे चोक, लैनचौर, केशरमहल, वीर अस्पताल, नारायणहिटी दरबार सङ्ग्रहालय ढोका, तीनधारा महेन्द्र सालिक, रत्नपार्क, भद्रकाली, कमलपोखरी, काठमाडौँ प्लाजा, कमलादी, बागबजार, पद्मोदय मोड, अनामनगर, सिंहदरबार, माइतीघर, भद्रकालीलगायतका ठाउँमा नयाँ बत्तीको व्यवस्था गर्न लागिएको सिग्देलले जानकारी दिनुभयो । टेकु–सोह्रखुट्टे सडकखण्ड (विष्णुमती खोलाको किनारा)मा अहिले पुल बनाउने काम भइरहेकाले त्यहाँको काम अरू चोकको जेब्रा क्रसिङको तुलनामा ढिलो हुनेछ । विसं २०५९ मा जापान सरकार (जाइका)ले बनाइदिएको बत्ती त्यतिबेलाको सवारी चापलाई हेरेर बनाइएको सडक विभागका उपमहानिर्देशक उमेश झा बताउनुहुन्छ । उपत्यकाका प्रमुख चोक नयाँबानेश्वर, चाबहिल, गौशाला, कलङ्कीलगायतका क्षेत्रमा जेब्रा क्रसिङमा बत्ती बिग्रिएको छ । अठारौँ सार्क शिखर सम्मेलनभन्दा अगाडि उपत्यकाका कालिमाटी, माइतीघर, थापाथली, सिंहदरबार, पद्मोदय, पुतलीसडक केशरमहललगायतका क्षेत्रमा मर्मत भएको थियो । उहाँ भन्नुहुन्छ – “हामीले सडक जेब्रा क्रसिङमा बत्ती राख्दा त्यो समयलाई हेरेर बनाएका थियौँ तर अहिले त्यसबेलाको तुलनामा तीनगुणा सवारी साधनमा वृद्धि भएको छ ।” यस्तै, बाटो साँघुरो भएकाले भित्री सडकका फुटपाथहरू व्यवस्थित हुन नसकेको र भित्री सडकमा पनि ट्राफिक व्यवस्थामा अप्ठ्यारो पर्ने गरेको झा बताउनुहुन्छ । केन्द्रीय कन्ट्रोल एकाइका आधारमा नयाँ बन्ने ट्राफिक व्यवस्था चल्ने र त्यसको नियन्त्रण ट्राफिक प्रहरी महाशाखा बग्गीखानाले गर्ने गरी काम अगाडि बढाइएको दिगो सहरी विकास आयोजनाले जनाएको छ । दिगो सहरी विकास आयोजनाका उप–प्रमुख नीरज शर्माले अहिलेसम्म नेपालमै नभएको सेवा ल्याउन खोजिएको बताउँदै भन्नुहुन्छ – “यो सेवाले चौबीसै घन्टा धुवाँ र धुलो खान बाध्य भएका ट्राफिक प्रहरीको बोझ कम बनाइदिनेछ ।” शर्मा भन्नुहुन्छ – “विश्वका विकसित मुलुक अमेरिका, युरोप, चीन, भारतलगायतको प्रणालीलाई यहाँ विकसित गर्न लागेका हौँ ।” सडक विभाग र एसियाली विकास बैंकले ट्राफिक बत्तीको व्यवस्था मिलाउने कामका लागि गृहकार्य थाल्दै गर्दा उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र पाख्रिन भने सबै बत्तीको फेज मिलाएर रोड चौडा नपारेसम्म जेब्रा क्रसिङको बत्तीले धान्न नसक्ने बताउनुहुन्छ । जेब्रा क्रसिङको बत्तीकोे प्रयोग गर्दा ट्राफिकको जनशक्ति कम भए पनि चल्ने तर ट्राफिक सेवालाई चाहिँ चोक–चोकमा सञ्चालन गर्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार अत्याधुनिक बत्तीको व्यवस्था नहुँदा राष्ट्र प्रमुख र सरकार प्रमुखको आवागमनको समयमा ट्राफिक सेवा समस्यामा पर्ने गरेको छ । चालकले तीव्र गतिमा सवारी साधन चलाउँदा र चालकको लापर्बाहीले गर्दा अधिकांश सवारी साधन दुर्घटनामा पर्ने गरेको छ । काठमाडौँ उपत्यकामा २०७ किलोमिटर कालोपत्रे, तीन किलोमिटर ग्राभेल र १९ किलोमिटर कच्ची सडक रहेका छन् ।