सरकारले मस्तिष्क मृत्युसम्बन्धि कानून बनाउँदै छ – मुख्यसचिव पौडेल

सरकारका मुख्यसचिव लीलामणि पौडेलले सरकारले मस्तिष्क मृत्युसम्बन्धि कानून बनाउने तयारी गरेको बताउनुभएको छ । भक्तपुरको मानव अङ्ग प्रत्यारोपन केन्द्रमा आयोजना गरिएको निःशुल्क मिर्गाैला शिविर तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यो कानून आएपछि मङ्हगो खर्च गरेर उपचारका बिरामी विदेशमा जानुपर्ने अबस्था नआउने उल्लेख गर्नु भयो । मुख्य सचिव पौडेलले सरकारले मङ्हगो मूल्य पर्ने औषधिको मूल्य निर्धारण गर्न लागेको बताउँदै मूल्य निर्धारण पछि औषधिको मूल्यमा एकरुपता आउने र मङ्हगोमा औषधि बिक्री गर्नेलाई कारबाही गरिने छ भन्नु भयो । कार्यक्रममा मानव अङ्ग प्रत्यारोपन केन्द्र भक्तपुरका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले नेपालमा ३० लाख मानिसमा कुनै न कुनै प्रकारका मिर्गौलाको रोग भएको बताउँदै यहि रोगबाट वर्षेनी तीन हजार जनाको मृत्यु हुने गरेको जानकारी दिनु भयो । उच्च रक्तचाप र मधुमेह रोगका बारेमा सावधानी अपनाउँदा पनि यो रोगबाट धेरै हदसम्म बच्न सकिने बताउँदै उहाँले पिसाबमा सामान्य सङ्क्रमण र पत्थरीको उपचार समय मै नहुँदा पनि मिर्गौलाको रोग लाग्ने बताउनुभयो । कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकूरलगायतले सरकारले जनचेतना मूलक कार्यक्रमलाई देशव्यापीरूपमा लैजानुपर्नेमा जोड दिनुभयो ।