अन्तरिक्षमा सौर्य ऊर्जा उत्पादन गर्न जापानी संस्थाको सानो सफलता


lightजापानमा यन्त्र (मेसिन) बनाउने एक प्रमुख कम्पनीले शुक्रबार तारविहीन रूपमा ऊर्जा प्रवाह गर्न सफलता प्राप्त गरेको दाबी गरेको छ । यसले अन्तरिक्षमा सौर्य ऊर्जा उत्पादन गर्ने कार्यलाई सफल बनाउने अनुमान गरिएको छ । मित्सुबिसी हेवी इन्डस्ट्रिजले परम्परागत खाना पकाउने उपकरण सञ्चालन गर्न पर्याप्त १० किलोवाट ऊर्जा प्रवाह गर्न माइक्रोवेभ प्रविधि उपयोग गर्न सफलता प्राप्त गरेको जानकारी दिएको छ । यस प्रविधिमा ५०० मिटर पर रहेको खाना पकाउने उपकरण सञ्चालन गर्न तारविहीन रूपमा हावामै ऊर्जा प्राप्त भएको थियो । अन्तरिक्षमा व्यापक रूपमा उपलब्ध सौर्य ऊर्जा सङ्कलन गरी पृथ्वीमा प्रयोगका लागि पठाउने तारविहीन ऊर्जा प्रसारण प्रविधिको विकासमा हाल वैज्ञानिकहरू क्रियाशील रहेको बताइएको छ । मित्सुबिसीको अनुसन्धानमा उपयोग भएको दूरी लामो नभए पनि यसले मानवलाई अन्तरिक्षमा उपलब्ध व्यापक सौर्य ऊर्जा प्राप्त गर्न मार्ग खुला गर्ने अनुमान गरिएको छ । जापान एरोस्पेस एक्प्लोरेसन एजेन्सी (जाक्सा)ले १.८ किलोवाट ऊर्जा तारविहीन रूपमा प्रसारण गर्न सफलता प्राप्त गरेको घोषणा गरेपछि मित्सुबिसीले शुक्रबार उक्त घोषणा गरेको हो । यसबीच स्विजरल्यान्डको सौर्य ऊर्जाबाट सञ्चालित एक विमानले पृथ्वीको परिक्रमा गर्ने प्रयासको रूपमा उडानको नयाँ कीर्तिमान कायम गरेको छ । स्रोतको कमी रहेको जापानमा सन् २०११ मा फुकुसिमा आणविक सङ्कटपछि पारमाणविक संयन्त्रहरू बन्द भएपछि ऊर्जाको ठूलो कमी हटाउन वैज्ञानिकहरूले नयाँ उपाय खोजी गरिरहेका छन् । उक्त दुर्घटनाका कारण टोकियो यहाँको बत्ती बाल्न वैकल्पिक महङ्गो जैविक इन्धन उपयोग गर्न बाध्य भएको थियो । मित्सुविसीले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरी आफ्नो परीक्षणले तारविहीन ऊर्जा प्रसारणको व्यापारिक सम्भावना प्रदर्शन गरेको विश्वास गरिएको जानकारी दिएको छ । अन्तरिक्षमा ऊर्जा उत्पादनले पृथ्वीलाई ऊर्जाको स्थायी स्रोत उपलब्ध गराउँछ र त्यस्तो आपूर्तिलाई मौसम तथा समयले प्रभाव पार्दैन । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (इन्टरनेसनल स्पेस स्टेसन) जस्ता मानवले बनाएको भूउपग्रहले लामो समयसम्म सूर्यबाट प्राप्त भएको ऊर्जा प्रयोग गरिरहेको छ । यसै गरी यस्तो ऊर्जा पृथ्वीमा पनि प्राप्त गर्ने कुरा वैज्ञानिक कल्पनाको भाग बनेको थियो । जापानी यस अनुसन्धानले मानवले एक दिन अन्तरिक्षबाट कहिल्यै नसकिने ऊर्जा प्राप्त गर्न सफलता प्राप्त गर्नेछ भन्ने सङ्केत दिएको छ । यसका लागि वर्षौं लाग्न सक्छ र सम्भव छ यस्तो नयाँ प्रविधिको व्यापारीकरण सन् २०४० को दशकमा मात्र सफल देख्न सकियोस् । वर्षौंसम्म जापानको अन्तरिक्ष संस्थाले अन्तरिक्ष सौर्य ऊर्जा प्रणाली विकास गर्न प्रयास गरिरहेको छ । यस प्रणालीमा पृथ्वीबाट ३६ हजार किलोमिटर माथि माइक्रोवेभ प्रसारण सौर्य भूउपग्रह स्थापना गरिनेछ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]