समय कटाउने खेल बनाए परिणाम गम्भीर हुने प्रचण्ड चेतावनी, सहमति हुनेमा शंका


Prachandaएकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले आफूहरु लचकताका साथ वार्तामा बसेकाले त्यसलाई कमजोरी नठान्न सत्तारुढ दलहरुलाई आग्रह गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा १०५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) द्वारा आयोजित ‘महिलामाथि हुने राजनीतिक हिंसा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सहमतिका आधारमा संविधान जारी नहुने अवस्था आए आन्दोलनको विकल्प नभएको बताउनुभयो । उहाँले आफूहरुले वार्तामा बस्न गरेको लचकतालाई सत्तारुढ दलले हल्काफुल्का लिएर समय कटाउने खेल सम्झिए परिणाम गम्भीर हुने र मुलुकको राजनीति नयाँ दिशातिर अगाडि बढ्ने चेतावनी दिनुभयो । गम्भीरतापूर्वक वार्तामा बस्नुपर्ने नेताहरु कोही बिरामी भएको वहानामा नआउने, कोही देश विदेशको भ्रमणमा जाने प्रवृत्तिले सहमति हुनेमा आफूहरु शसङ्कित रहेको उहाँको कथन थियो । पछिल्लो दिनमा सुरु भएको प्रमुख दलबीचको वार्ता पनि यही फागुन १६ गतेको जनप्रदर्शनका कारण अगाडि बढेको दाबी गर्दै उहाँले वार्तामा अल्मल्याएर आन्दोलन भाँड्ने योजनामा कोही लागेको भए त्यसले ल्याउने परिणाम पनि गम्भीर हुने जिकिर गर्नुभयो । महिला, दलित, मधेसी, आदिवासी, जनजातिलगायत समुदायको अधिकारमा कुनै सम्झौता नगर्ने बताउँदै उहाँले अधिकार प्राप्त नभए सङ्घर्षमा जाने उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “नेपाली काँग्रेस र नेकपा (एमाले) ले माने भने संविधान बन्छ नत्र आन्दोलन गर्नुपर्ने बाध्यता हुन्छ ।” राजनीतिक सङ्क्रमणका कारण हिजो क्रान्तिमा लागेका महिला पनि पुनः पुरानै अवस्थामा फर्कनु परेको भन्दै उहाँले नेता तथा कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभयो । जनयुद्ध र विभिन्न आन्दोलनमा महिलाको बलिदानबाट प्राप्त उपलब्धि अपहरण हुने खतरा रहेकाले अधिकार प्राप्तिको सङ्घर्षमा लागिरहनुको विकल्प नभएको अध्यक्ष दाहालको भनाइ थियो । कार्यक्रममा एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेताको उपस्थिति थियो । सो अवसरमा नेत्रीद्वय हिसिला यमी र शशी श्रेष्ठ तथा सङ्घका अध्यक्ष सीता पोखरेललगायतले अधिकार प्राप्तिको लडाईं पूरा नभएका कारण थप सङ्घर्षमा उत्रनुको विकल्प नभएको धारणा राख्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]