एमालेका नयाँ केन्द्रीय सदस्यहरुको सपथ, एमाओवादीका आरोपको प्रतिवाद, मैनाली र सुब्बा पनि केन्द्रीय सदस्य


umlनेकपा (एमाले) मा गत साता मनोनीत १० केन्द्रीय सदस्यमध्ये नौजनाले पार्टीका अध्यक्ष केपी ओलीबाट शपथ लिनुभएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उपत्यका बाहिर भएका कारण कृषिमन्त्रीसमेत रहनुभएका केन्द्रीय सदस्य हरि पराजुलीबाहेक अन्यले शपथ लिनुभएको हो । गत असारमा सम्पन्न एमालेको नवौँ राष्ट्रिय महाधिवेशनपछि यही फागुन १३ गते केन्द्रीय कमिटीमा १० पूर्ण सदस्य मनोनीत हुनुभएको थियो । मनोनीत हुनेमा पराजुलीसहित केदार न्यौपाने, घनेन्द्र बस्नेत, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, कल्याणी खड्का, प्रमेश हमाल, सुमन प्याकुरेल, रामकुमार ज्ञवाली र जया घिमिरे हुनुहुन्छ । कार्यक्रममा अध्यक्ष ओली, नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेताले नयाँ सदस्यलाई बधाइ दिनुभयो । सो अवसरमा अध्यक्ष ओलीले पार्टीमा धेरै योग्य र सक्षम व्यक्तिहरू रहे पनि सीमित व्यक्तिलाई मनोनीत गर्न सकिएको भन्दै जिम्मेवारीलाई सक्रियताका साथ बहन गर्न आग्रह गर्नुभयो । शनिबार खुलामञ्चमा आयोजित सभामा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीलाई ‘नेपाली काँग्रेसमा मिले हुन्छ’ भन्ने अभिव्यक्तिको प्रतिवाद गर्दै उहाँले भन्नुभयो, “एक महिना लामो तयारी गरेर खर्च गरेर कार्यकर्ता भेला गर्दैमा कोही उत्साहित हुनु पर्दैन ।” उहाँले विगतमा पनि एमाओवादीले ‘यसपालिको हैजा आफूलाई लैजा’ जस्ता नारा लगाए पनि केही फरक नपरेको र त्यस्ता अभिव्यक्तिबाट प्रभावित हुनु जरुरी नभएको बताउँदै भन्नुभयो, “के त्यस्तो आरोप लगाउने पार्टी नेतालाई चाहिँ आर्यघाट जानु पर्दैन र ?” कार्यक्रममा नेता नेपालले पार्टीमा रहेका सबैलाई उचित मूल्याङ्कन गरेर जिम्मेवारी दिने प्रणाली स्थापित गर्नुपर्ने बताउनुभयो ।
मैनाली र सुब्बा पनि केन्द्रीय सदस्य
नेकपा (एमाले) स्थायी कमिटीको बैठकले पूर्व पार्टी नेता राधाकृष्ण मैनाली र विजय सुब्बालाई केन्द्रीय कमिटीको सदस्यमा मनोनयन गरेको छ । बैठकले पार्टी विधानको धारा ६७ (४) को व्यवस्था अन्तर्गत उहाँहरूलाई मनोनयन गरेको हो । झापा विद्रोहकालीन नेता मैनाली लामो समय एमालेको राजनीतिमा सक्रिय हुनुभई केही वर्ष पहिले एनेकपा¬–माओवादीमा प्रवेश गरी केन्द्रीय सल्लाहकार भए पनि पछिल्लो समयमा स्वतन्त्र वामपन्थीका रूपमा रहनुभएको थियो । अर्का नेता सुब्बा पूर्व एमाले नेता तथा केही समय अघि सङ्घीय समाजवादी पार्टीको उपाध्यक्षबाट पुनः एमाले प्रवेश गर्नुभएको थियो । एमालेको आजको बैठकमा मुलुकको पछिल्लो राजनीतिक स्थिति, विपक्षी मोर्चाले शनिबार गरेको खुलामञ्चको सभा र विपक्षी नेताहरूका अभिव्यक्ति, संविधानसभाको स्थगित बैठकलाई अगाडि बढाउने तथा संविधान निर्माणको राष्ट्रिय अभिभारालाई सम्पन्न गर्नेलगायतका विषयमाथि गम्भीर छलफल भएको पार्टीका महासचिव ईश्वर पोखरेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]