बन्द अहिले २ बजेबाट फिर्ता हुँदै, विहानैदेखि जनजीवन प्रभावित, विभिन्न स्थानमा सवारी साधन तोडफोड


bandaएकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चा, नेकपा माओवादी र पदमरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले आज आह्वान गरेको बन्दको कारण राजधानीलगायत देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ । राजधानीमा बिहानैदेखि आयोजकले बन्दको समर्थनमा विभिन्न स्थानमा जुलुुस निकालेका छन् । फाट्टफुट्टबाहेक बन्दका कारण सवारीसाधन चल्न सकेका छैनन् । प्रहरीका अनुसार विभिन्न ठाउँमा बन्दकर्ताले पार्किङ गरी राखेका बस र ट्याक्सी तोडफोड गरेका छन् । समाचार सङ्कलनमा गएका सञ्चारकर्मीलाई समेत अवरोध पु¥याएका छन् । सवारीसाधन तोडफोडमा संलग्न १८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता हेमन्त पालले राससलाई जानकारी दिनुभयो । राजधानीको बिजुलीबजारमा युएनको ७१०२२३ नम्बरको मोटरसाइकल बन्दकर्ताले तोडफोड गर्दै गरेको दृश्य खिच्दै गरेका एसोसिएट प्रेस (एपी)का पत्रकार उपेन्द्रमान सिंहमाथि कुटपिटसमेत गरेका छन् । यस्तै एकीकृत नेकपा (माओवादी) सम्मिलित मोर्चा र नेकपा–माओवादीसहितका दलले गरेको बन्दका कारण आज चितवनमा बिहानैदेखि जनजीवन प्रभावित भएको छ । बिहानै बन्दकर्ताले चितवनमा तीनवटा ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनको खैरहनी र भरतपुरका विभिन्न दुई स्थानमा बन्दकर्ताले ट्रकमा आगजनी गरेका हुन् । खैरहनीस्थित साईबाबा ग्यास उद्योगअगाडि ना४ख ८५२३ नम्बरको ट्रकमा आगजनी गरिएको हो । यस्तै भरतपुरको मिलनचोकमा पूर्वतर्फ जाँदै गरेको ना३ख २५८६ नम्बरको ट्रक र मुगलिनबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ३८४१ नम्बरको ट्रकमा भरतपुर–१ रामनगरमा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ । दमकलको सहयोगमा प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बन्दकर्ता चितवनको खैरहनी, रत्ननगर, भरतपुर, नारायणगढ, आँपटारीलगायत क्षेत्रमा बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । यसैबीच, आन्दोलनरत पक्षले २ बजेबाट बन्द फिर्ता लिएको छ । जनजातिहरुको ल्होछार पर्व भोलि परेकोले त्यसको पूर्वसन्ध्यामा बन्दले असर गर्नेभन्दै बन्द फिर्ता लिएपनि सहमतिको वातावरण बनाउनका लागि यस्तो गरिएको बताइएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?