एमालेको बृहद कार्यकर्ता भेला काठमाडौंमा, संविधानसभा असफल बनाउने योजनालाई नै असफल बनाइदिने एमाले अध्यक्ष ओलीको भनाई


kp oliनेकपा (एमाले) ले जातीय आधारमा राज्यको पुनःसंरचनाको मान्यतालाई कुनै पनि हालतमा अनुमोदन नगरिने पुनः स्पष्ट गरेको छ । संविधानका विवादित अन्तर्वस्तुमा दलबीच निर्णायक छलफल भइरहेका बेला आज एमालेले बृहत् कार्यकर्ता भेलाको आयोजना गरी पार्टीलार्ई मधेसविरोधी भनी कतिपय दलबाट लगाइएको आरोपको पनि खण्डन गरेको छ । एमालेका शीर्ष नेताले राष्ट्रिय एकता, मुलुकको समृद्धि, जातीय सद्भाव, दिगो शान्ति र आर्थिक विकासलाई केन्द्रमा राखेर नयाँ संविधानका अन्तर्वस्तुमा सहमतिको बिन्दु खोजिने अडान राख्दै आफ्ना सभासद् र कार्यकर्तालाई कसैको बहकाउमा नलाग्न आग्रह गरेको छ । भेलालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानसभालाई संविधान ल्याउन नदिई पुनः असफल बनाउने एमाओवादी र मधेसवादी दलको सोच हो भने त्यसलाई आफूहरूले सफल हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “कहिले सहमतिमा आउन खोज्ने, कहिले निहुँ खोजेर हिंँड्ने प्रवृत्ति राखेर विपक्षी दलले समयलाई अल्मल्याउने र संविधानसभालाई असफल बनाउने षड्यन्त्र गरेको हो भने त्यो पूरा हुन दिइने छैन, दुई तिहाइको प्रक्रियाबाट संविधान ल्याउन हामी सक्षम छौँ ।” उहाँले संविधान लेखनले पूर्णता नपाएसम्म वर्तमान सरकारको निरन्तरता हुने पनि बताउनुभयो । पूर्वप्रतिबद्धताअनुसार यही माघ ८ गते संविधान ल्याउन सम्भव नभए पनि अब धेरै समय खर्च नगरी संविधान ल्याउन आफूहरू क्रियाशील रहेको बताउँदै उहाँले आफ्ना सभासद् र कार्यकर्तालाई जातीय सद्भाव खल्बल्याउने कुनै पनि भड्काउमा नबग्न र नउचालिन सचेत गराउनुभयो ।
राज्य पुनःसंरचनाः उत्तर–दक्षिण र जलाधार क्षेत्रका आधारमा
एमालेका वरिष्ठ नेता झलनाथ खनालले मधेस र पहाडलाई अलग गरेर प्रादेशिक संरचना बनाउनु हँुदैन भन्ने मधेसवादी दलका सोच मौलिक नभई प्रयोजित भएको धारणा राख्दै उत्तर–दक्षिण र जलाधार क्षेत्रका आधारमा राज्य पुनःसंरचना हुनुपर्ने बताउनुभयो । उहाँले विगतमा एमालेले पनि परिपक्व नभई १४ प्रदेशसम्म जाने कुरा गरेको भए पनि अहिले सात प्रदेशको अवधारणामा आएको र यसमा पनि केही परिमार्जन गर्न सकिने बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “जुन जाति देख्यो उसैलाई राज्य दिन्छु भन्ने सोचले राष्ट्र अघि बढ्न सक्दैन, पृथ्वीनारयण शाहले राष्ट्रनिर्माण गरिसकेका छन्, अब यसलाई छिन्नभिन्न पार्न दिनु हुँदैन ।” एमालेका अर्का नेता माधवकुमार नेपालले एमाओवादी र मधेसकेन्द्रित दलको ढिपीका कारण समयमा संविधान आउन नसकेको भन्दै अल्पमतले बहुमतलाई बन्धक बनाउने कार्य भइरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “एमाओवादी र मधेसवादीमा अझै उग्रवादी र जातीय भड्काउवादी सोचको अन्त्य हुन नसकेका कारण सहमतिमा समस्या आएको छ, अब सहमति नभए प्रक्रियामा जान ढिलो गर्नु हुँदैन ।” कार्यक्रमा पार्टीका उपाध्यक्ष विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल, मन्त्री, सभासद् र अगुवा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?