चीनले राजधानीमा पुर्यायो १२ सय किलोमिटर टाढाबाट ३३ अर्ब अमेरिकी डलर लगानीको परियोजनाबारे चर्चा विश्वभर

चीनको मध्यभागमा रहेको बृहृत् बाँधमा व्यापक पानी जम्मा भएको छ त्यसले एक हजार किलोमिटर पर बेइजिङसम्म पानी पु¥याएको छ । चीनको राजधानीले शनिबार दक्षिण–उत्तर पानी प्रसारण परियोजनाको पहिलो प्रवाह प्राप्त गरेको छ । यसलाई चीनको इतिहासमा सबैभन्दा महत्वाकाँक्षी इन्जिनियरिङ परियोजनाको रूपमा हेरिएको छ । दशकौँसम्मको योजना तथा कम्तीमा ३३ अर्ब अमेरिकी डलर बराबरको लगानीबाट यस परियोजनामा प्रतिवर्ष एक अर्ब घनमिटर पानी एक हजार २०० किलोमिटर पर नहर तथा पाइपलाइनबाट पठाउने लक्ष्य लिइएको छ । यो दूरी युरोपमा लन्डनदेखि म्याड्रिडसम्मको दूरी जत्तिकै छ । नगर प्रशासनले एक टेक्स्ट सन्देश पठाइ बेइजिङले यस परियोजनामा औपचारिक रूपमा पानी पाउन थालेको जानकारी दिएको छ । यसै मार्गमा अन्य प्रान्तहरूमा ८.५ अर्ब घनमिटर पानी पुग्ने जानकारी दिइएको छ । यो पानीको मात्रा ३४ लाख ओलम्पिक आकारका पौडी पोखरी जत्रो हुनेछ । चिनियाँ सरकारले तीन मार्गको यस परियोजनाको अनुमानत लागत ८१ अर्ब अमेरिकी डलर बराबर भएको जानकारी दिँदै यसले चीनको उत्तरी नगरमा पानी आपूर्तिमा कमी समाधान गर्ने अपेक्षा गरेको छ । बेइजिङमा प्रतिव्यक्ति पानी उपलब्धता मध्यपूर्वी मुलुक इजरालयको जस्तै छ र यसले त्यहाँको आर्थिक वृद्धिलाई चुनौती दिएको छ । वास्तवमा चीनको आर्थिक नीति नै सत्ताधारी कम्युनिस्ट पार्टीप्रतिको प्रमुख समर्थन भएको छ । चीनको मध्यभागमा रहेको हुबेइ प्रान्तको दानजियाङकाउको ११० मिटर अग्लो बाँधमाथि बसेर एक पथप्रदर्शकले यो पानी उत्तरसम्म जानुपर्ने बताए । उनी बसेको क्षेत्र बेइजिङको समुद्र सतहबाट १२० मिटरमाथि रहेको छ र यो पानी प्रवाह गुरुत्वाकर्षण शक्तिमा मात्रै भर परेको छ । इन्जिनियरिङ आधारमा यलो नदीको तल्लो भागमा रहेको ७.२ किलोमिटर लामो सुरुङ चीनको सबैभन्दा ठूलो पानीमार्ग भएको छ । यसलाई आधिकारिक प्रतिवेदनमा मानव इतिहासमा नदी तर्ने सबैभन्दा ठूलो परियोजनाको नाम दिइएको छ । हेनान प्रान्तमा एक नदीको माथिल्लो भागबाट पानी प्रवाह गर्न चिनियाँ इन्जिनियरहरूले १२ किलोमिटरको एक्वेडक्ट अर्थात पानीपुल बनाएका छन् । यसलाई विश्वको सबैभन्दा लामो पानीपुल भनिएको छ । चीनको उत्तरी भागले करिब आधा जनसङ्ख्या, अर्थतन्त्र तथा कृषियोग्य भूमिको दुई तिहाइ भाग ओगटेको छ । यसो भए पनि यसले कूल पानी आपूर्तिको २० प्रतिशत मात्र पाउने गरेको विश्व बैङ्कले उल्लेख गरेको छ । सन् १९५२ मा यलो नदीलाई हेरेर चिनियाँ संस्थापक नेता माओ जेदोङले चीनको उत्तरी भागलाई पानी आवश्यक भएको र दक्षिणमा पर्याप्त पानी भएको अवस्थामा केही पानी त्यहाँबाट सापट लिन सम्भव भए राम्रो हुने बताउनुभएको थियो । नेता माओको यसै भनाइका कारण उक्त परियोजना आरम्भ भयो र त्यसको अध्ययन पनि आरम्भ भयो । यसो भए पनि त्यसमा प्राविधिक रूपमा प्रश्न गरियो र पूँजीको अभावमा उक्त परियोजनालाई जियाङ जेमिनको पालासम्म रोकेर राखियो । सन् २००२ मा उक्त परियोजनालाई स्वीकृति दिइयो । बेइजिङमा प्रतिव्यक्ति पानी उपलब्धताकोस्तर १२० घनमिटरमा पुगेपछि यो बाँध बनाउनुपर्ने आवश्यकता अझै बढ्यो । यो स्तर अल्जेरियाको भन्दा कम हो र यमनको बराबर हो । यी दुबै मुलुक मरुभूमियुक्त मुलुक हुन् । यस परियोजनाको पूर्वी भाग एक हजार ४०० वर्ष पुरानो ग्रान्ड क्यानलसँगै बनेको छ । त्यसबाट गत वर्ष याङजेबाट सानदोङसम्म पानी आइपुगेको थियो । उक्त पानीमा प्रदूषणको चिन्ता पनि गाँसिएको थियो । सीसीटीभीले गत वर्ष दानजियाङकाउ बाँध चुहावट तथा मानव प्रदूषणबाट प्रभावित भएको जानकारी दिएको थियो । यसपछि अधिकारीहरूले दानजियाङको माथिल्लो भागमा रहेका हजारौँ कारखाना बन्द गरिदिएका थिए र अब उनीहरूले पानी खान लायक भएको बताएका छन् । चीनको दक्षिणी भागमा हाल वर्षा घट्दै गएको देखिएको छ र यसको अर्थ यसले अब नियमित रूपमा सुखा भोग्नुपर्नेछ । यसैले विश्लेषकहरूले यसका कारण परियोजनाले पीडा भोग्नुपर्ने धारणा राखेका छन् । यस केन्द्रीय मार्गमा रहेका तीन लाख ३० हजार व्यक्तिलाई अन्यत्र सार्नुपरेको बताइएको छ । प्रति वर्ष १.०५ अर्ब घनमिटर पानी बेइजिङमा पुग्ने भए पनि यो नगरको प्यास बुझाउन पर्याप्त नभएको ठानिएको छ । हाल चीनका नगरहरू धनी बन्दै गएको अवस्थामा नागरिकको पानीको उपभोग बढ्ने अपेक्षा गरिएको छ । बेइजिङको पानीको प्रयोग प्रतिवर्ष ३.६ अर्ब घनमिटर पुगेको छ र हाल २.१ अर्ब घनमिटर मात्र आपूर्ति भएको छ । यसको अर्थ अहिले नै १.५ अर्ब घनमिटर कमी भइरहेको छ । वातावरणवादीहरूले पानीको संरक्षण तत्कालैको प्राथमिकता भएको र मूल्य वृद्धि गर्नुपर्ने धारणा राखेका छन् । हाल प्रति घनमिटर पानीको मूल्य चार युआन बराबर रहेको छ ।