मोदीको ऊर्जा खोजी, भारतले रसियासँग मिलेर दश पारमाणविक भट्टी निर्माण गर्ने


urjaभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग नयाँ दिल्लीमा भेटवार्ता गरेपछि बिहीबार ऊर्जाको कमीग्रस्त आफ्नो मुलुकले मस्कोसँग मिलेर कम्तीमा दश थप पारमाणविक भट्टी निर्माण गर्ने बताउनुभएको छ । उहाँले एक पत्रकार सम्मेलनमा भारतले कम्तीमा १० वटा थप पारमाणविक ऊर्जा उत्पादन भट्टी स्थापना गर्ने महत्वाकाँक्षी दृष्टिकोणको योजना तयार गरेको बताउनुभयो । उहाँले यी भट्टी सुरक्षाको स्तरमा विश्वको सबैभन्दा सुरक्षितमध्ये हुने र यसमा भारतमा उत्पादन भएका उपकरण तथा भाग जडान हुने बताउनुभयो । रसियाले भारतको दक्षिणी भाग कुदानकुलमको संयन्त्रमा दुई पारमाणविक भट्टी आपूर्ति गरेको थियो । उक्त भट्टीका लागि ढिलाइ गरी सन् २०१० तथा २००८ मा सम्झौता भएका थिए । यसपछि रसियाले भारतलाई थप भट्टी लिन दबाब दिएको छ । भारतमा प्रधानमन्त्री मोदी मे महिनामा निर्वाचित हुनुभएपछि रसियाली राष्ट्रपति पुटिनको यो पहिलो भारत भ्रमण हो । हाल प्रतिबन्धबाट प्रभावित मस्कोले एसियासँग ऊर्जा, प्रतिरक्षा तथा रणनीतिक सम्बन्ध स्थापना गर्न चाहेको छ । युक्रेनमा विद्रोहलाई समर्थन गरेको तथा क्राइमियालाई आफूमा गाभेकोमा रसिया अमेरिका तथा युरोपेली महासङ्घको प्रतिबन्धमा परेको छ । रसियाली राष्ट्रपति आफ्नो प्राकृतिक स्रोतका लागि नयाँ बजारको खोजीमा हुनुहुन्छ । बिहीबार दुई मुलुकले भारतमा रसियाको सबैभन्दा उन्नत हेलिकप्टर तथा सैनिक उपकरणका अतिरिक्त पुर्जा उत्पादन गर्ने कारखाना स्थापना गर्ने सहित १६ वटा सम्झौतामा हस्ताक्षर गरेका छन् । परम्परागत रूपमा रसियाले भारतलाई उसको सैनिक उपकरणमा ७० प्रतिशतसम्म आपूर्ति गरेको थियो । भारतको घरेलु उद्योगले उच्चप्रविधिको हतियार उत्पादन गर्न प्रयास गरिरहेको छ भने हाल यो मुलुक प्रतिरक्षामा ठूलो खर्च गर्ने तयारीमा रहेको छ । रसियामा स्टालिनको मृत्युभएपछि मस्को तथा नयाँ दिल्लीबीच बलियो सम्बन्ध स्थापना भए पनि दुई मुलुकबीच व्यापार प्रतिवर्ष १० अर्ब अमेरिकी डलर बराबर रहेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]