फ्रान्सका जँ टिरोललाई नोबेल अर्थशास्त्र पुरस्कार


फ्रान्सेली अर्थशास्त्री जँ टिरोललाई ठूला कम्पनी, बजारको शक्ति तथा नियमनमा उहाँको विश्लेषणका लागि यस वर्षको नोबेल अर्थशास्त्र पुरस्कार प्रदान गरिएको रोयल एकेमडेमी अफ साइन्सेजले सोमबार जानकारी दिएको छ । टिरोल यस वर्ष नोबेल पुरस्कारबाट सम्मानित हुने दोस्रा फ्रान्सेली नागरिक हुनुहुन्छ । पुरस्कार निर्णायक समितिले उहाँ आफ्नो समयमा सबैभन्दा प्रभावशाली अर्थशास्त्रीमध्ये एक हुनुभएको उल्लेख गरेको छ । टुलुजका १ मा अवस्थित क्यापिटल विश्वविद्यालयका अर्थशास्त्री टिरोलका विषयमा निर्णायक समितिले धेरै उद्योगहरू एकल एकाधिकार वा ठूलो व्यापारिक संस्थाहरूको प्रभावमा रहेको उल्लेख गरेको छ । समितिले यस्तो बजारलाई नियमन नगरी राख्दा त्यसले सामाजिक रूपमा अनावश्यक नतिजा दिने, उत्पादनको लागतभन्दा मूल्य उच्च हुने र अनुत्पादक व्यापारिक संस्थाले नयाँ र थप उत्पादक संस्थालाई बजारमा आउन नदिने अवस्था सिर्जना हुने उल्लेख गरेको छ । समितिले हालका वर्षमा राष्ट्रिय अर्थतन्त्रको व्यवस्थापनमा बजारको शक्ति तथा बलियो तथा सही नियमनको महत्व प्रमुख विषय भएको उल्लेख गरेको छ । सन् १९८० को दशकमा यो कुरा बढी महत्वपूर्ण भएको थियो । त्यस समयमा विकसित मुलुकको नीतिले बजारलाई स्वतन्त्र भूमिका प्रदान गरेको थियो, राज्यका एकाधिकार प्राप्त संस्थाहरूलाई प्रतिस्पर्धा बढाउन तथा मुद्रास्फीति कम गर्न निजीकरण गरिएको थियो । निर्णायक समितिले ६१ वर्षीय टिरोलले विभिन्न उद्योगमा बजारको प्रभाव परक हुने धारणा राख्नुभएको उल्लेख गरेको छ । निर्णायक समितिले उत्पादनको मूल्य लागतभन्दा कम गरी बजार प्रतिस्पर्धामा कायम रहने परम्परागत धारणा र त्यसलाई नियमन गर्ने कानुन भए पनि सबै बजारमा यो सत्य नहुने उहाँले उल्लेख गर्नुभएको जानकारी दिएको छ । यसका लागि निर्णायक समितिले समाचारपत्रको बजारको उदाहरण प्रस्तुत गरेको छ । पत्रपत्रिका निशुल्क बिक्री गर्दा पाठकलाई आकर्षित गर्ने र अर्कोतिर यस्ता पत्रिकाको उत्पादन तथा वितरणको घाटा विज्ञापनदाताले पूर्ति गरिदिने अवस्था देखिने उल्लेख गरेको छ । निर्णायक समितिले यस्तो अवस्थामा लागतभन्दा कम मूल्यमा उत्पादन बिक्री गर्ने कुरामा प्रतिबन्ध लगाउने कानुनले काम नगर्ने उल्लेख गरेको छ । समितिले यसैले उद्योगको विशेष अवस्थालाई हेरेर प्रतिस्पर्धा नियमन गर्ने नीति लागु गर्नुपर्ने धारणा राखेको छ । टिरोलको अध्ययनमा प्रतिलिपि अधिकार भएको र व्यापक रूपमा उपयोगमा आउने सफ्टवेयर उत्पादन गर्ने कम्पनीले आफ्नो उद्योगमा मात्र प्रभाव राख्ने नभई सहयोगी उद्योग तथा उनीहरूको उत्पादन शृङ्खलामा प्रभाव पार्ने धारणा समितिले राखेको छ । कुनै नयाँ खोज एउटा कम्पनीलाई बेचिएमा उक्त कम्पनीले उच्च नाफा कमाउने र यो कम्पनी अन्य कम्पनीभन्दा क्षमतावान हुने उल्लेख गरेको छ । यस्तो अवस्थामा यस्तो कम्पनीले उत्पादनको मूल्य उच्च राख्नेसक्ने पनि समितिले उल्लेख गरेको छ । निर्णायक समितिले टिरोलको कार्यले दूरसञ्चार देखि बैङ्कसम्मका उद्योगका नीति निर्धारण गर्न सहयोग गर्ने उल्लेख गरेको छ । हालको समयमा अमेजन तथा गुगलको बजार शक्तिका विषयमा विवाद देखिएको छ । यस्तो अवधारणामा रहँदा सरकारले शक्तिशाली कम्पनीलाई बढी उत्पादन हुन तथा प्रतिस्पर्धीलाई हानि नपु¥याउन लगाउनसक्ने निर्णायक समितिले धारणा राखेको छ ।        यो पुरस्कार यसका संस्थापक, सर्जक, स्विडिस वैज्ञानिक तथा लोकोपकारकारी व्यक्तित्व अल्फ्रेड नोबेलको सन् १८९६ मा देहावसान भएको दिन डिसेम्बर १० मा स्टकहोममा आयोजना हुने एक समारोहमा प्रदान गरिनेछ । अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कार वितरण गर्ने चाहना नोबेलले आफ्नो इच्छापत्रमा व्यक्त गर्नुभएको थिएन । यो पुरस्कार सन् १९६८ मा स्विडेनको केन्द्रीय बैङ्कले आफ्नो ३०० औँ वार्षिकोत्सव मनाउन स्थापना गरेको हो र यो सन् १९६९ मा पहिलो पटक प्रदान गरिएको थियो । अन्य पुरस्कार सन् १९०१ देखि प्रदान गरिएको छ । यो पुरस्कार प्राप्त गर्ने व्यक्तित्वहरूमा अमेरिकी अर्थशास्त्रीको बाहुल्य छ । गत दशकमा यो पुरस्कार प्राप्त गर्ने २० अर्थशास्त्रीमध्ये १८ अमेरिकी अर्थशास्त्री भएको बताइएको छ । नोबेल अर्थशास्त्र पुरस्कार घोषणा भएपछि यस वर्षको यस पुरस्कारको घोषणा सम्पन्न भएको छ । यस वर्षको नोबेल शान्ति पुरस्कार पाकिस्तानी १७ वर्षीया मलाला युसुफजाई तथा भारतका कैलाश सत्यार्थीलाई प्रदान गरिएको छ । यसै गरी नोबेल साहित्य पुरस्कार फ्रान्सेली लेखक प्याट्रिक मोडियानोलाई प्रदान गरिएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]