पहिलो विद्युतीय शवदाहगृह बन्न अझै केही महिना लाग्ने

नेपाल सरकारको अनुदान सहयोगमा पशुपति क्षेत्र विकास कोषले निर्माण गरिरहेको नेपालकै पहिलो विद्युतीय शवदाह गृहको काम बालुवा गिट्टीको अभावका कारण रोकिन पुगी ढिला हुने भएको छ । विसं २०६८ मङ्सिरमा सुरु भएको शवदाह गृह निर्माण २०७० असार मसान्तमै सकिनुपर्ने थियो । त्यतिखेर पनि निर्माण सामग्रीको अभाव र ठेकेदार कम्पनीको ढिलाइका कारण शवदाह गृह निर्माण सम्पन्न भएको थिएन । अवधि सकिएको १४ महिना बितिसक्दा पनि अझै शवदाह गृह निर्माण सकिने छाँट नदेखिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तारानाथ सुवेदीले बताउनुभयो । अहिलेकै कामको गति हेर्ने हो भने २०७२ असार मसान्तमा पनि शवदाह गृह निर्माण सम्पन्न भइसक्ने अवस्था देखिँदैन कोषाध्यक्ष सुवेदीले भन्नुभयो । विसं २०७० साउनबाट एक वर्षको समय थप गरी २०७१ असारसम्मको समयावधि थपिएकामा त्यस अवधिमा पनि नसकिएकाले अहिले समय थप गर्ने गृहकार्य भइरहेको छ । पटकपटक निर्माण कार्यमा ढिलाइ गरेकाले ठेकेदार कम्पनीलाई नै कारबाही गर्नुपर्ने अवस्था आएको कोषाध्यक्ष सुवेदी बताउनुहुन्छ । विद्युतीय शवदाह गृहको निर्माणका लागि च्याङ्मिला साल्पा जेभीलाई रु ११ करोडको लागतमा जिम्मेवारी दिइएको कोषका वरिष्ठ निर्देशक श्यामशेखर झाले जानकारी दिनुभयो । धेरै काम सकिएर पनि शवदाह गृह निर्माणको काम पूर्ण हुन भने नसकेको उहाँले बताउनुभयो । यस सम्बन्धमा ठेकेदार कम्पनीका प्रोप्राइटर पेम्बा लामासित प्रतिक्रियाका लागि सम्पर्क गर्न खोज्दा उहाँ सम्पर्कमा आउन चाहनु भएन । पशुपति गौशालास्थित पिङ्गलास्थान पुल नजिक वाग्मती नदी किनारमा निर्माण भइरहेको विद्युतीय शवदाह गृहमा दुईवटा मेसिन जडान गरिसकिएको छ भने एउटा मेसिन जडानका लागि पूर्वाधार निर्माण भएको छ । हाल दुईवटा विद्युतीय शवदाह मेसिन सञ्चालन गरेपछि अर्को मेसिन जडान गर्ने तयारी गरिएको कोषका सदस्य सचिव डा. गोविन्द टण्डन बताउनुहुन्छ । तेस्रो मेसिन पनि सञ्चालन गर्नुपरेमा दुई महिनाभित्रमा जडान गर्न सकिने गरी संरचना तयार गरिएको पनि उहाँले जानकारी गराउनुभयो । भारतको कलकत्तास्थित इन्डोमेन इन्जिनियरिङ कम्पनीबाट ल्याइएको दुईवटा विद्युतीय शवदाह मेसिनको रु दुई करोड ५९ लाख परेको छ । हाल दाउराबाट चितामा शवदाह गर्दा सरदर एउटा शवदाह गर्न तीन घण्टा समय लाग्ने गरेकामा विद्युतीय शवदाह गृहबाट ४५ मिनेटमै गर्न सकिने भएको छ । चिताबाट शवदाह गर्दा एउटा घाटमा दैनिक आठदेखि नौवटा शवदाह गर्ने गरिएकामा विद्युतीय शवदाह गृहबाट शवदाह गर्दा एक दिनमा एउटै मेसिनबाट २४ देखि ३० वटासम्म शवदाह गर्न सकिने भएको छ । हाल कम्तीमा पनि पशुपति आर्यघाटमा दैनिक ३० वटा शव आउने गरेका छन् । बढी आएको दिन ७० वटासम्म शव आर्यघाटमा आउने गरेका छन् । हाल दैनिक कम्तीमा पनि पाँचवटा शव विदेशमा रोजगारीमा गएकाहरूको आउने गरेको अभिलेख रहेको घाटको व्यवस्थापन हेर्नुहुुने कोषका सीताराम रिसाल बताउनुहुन्छ । काठमाडौँ उपत्यकाको जनसङ्ख्या वृद्धि, अस्पतालको सङ्ख्या वृद्धि र आर्यघाटमा उपत्यकाका अन्य घाटमा भन्दा सुविधा बढी भएकाले पनि शवको सङ्ख्या बढेको रिसाल बताउनुहुन्छ । आर्यघाटमा २६ जना शवदाहकलाई सूचीकृत गरिएको छ । त्यसैगरी क्रियाकर्म गरिदिने १३ जना क्रियापुत्रीको पनि सूचीकृत गरी सुविधा दिइएको छ । क्रियापुत्री ब्राह्मण, क्षेत्री र नेवार जातका सूचीकृत गरिएको पनि उहाँले जानकारी दिनुभयो । वायुमण्डलीय दृष्टिले पनि विद्युतीय शवदाह गृहबाट शवदाह गर्दा प्रदूषण नहुने, मलामीको आँखा पोल्ने, टाउको दुख्ने समस्या नहुने, र वाग्मतीमा जलाइएका दाउरालगायतका फोहोर नजाने भएकाले वाग्मतीको सफाइमा पनि राम्रो हुने कोषले जनाएको छ । साथै दाउराबाट भन्दा विद्युतीय शवदाह गृहबाट शवदाह गर्दा खर्च घट्नेछ । हाल दाउराबाट शवदाह गर्दा सरदर रु १५ हजार लाग्ने गरेकामा विद्युतीय शवदाह गृहबाट शवदाह गर्दा नौ हजारमै कार्य सम्पन्न हुनेछ । वातावरणीय शुद्धताका लागि विद्युतीय शवदाह गृहको निर्माणपछि चिताबाट गरिने शवदाहको प्रक्रियामा केही शुल्क अझ बढाइने तयारी गरिएको कोषाध्यक्ष सुवेदी बताउनुहुन्छ । शवदाह गर्ने धार्मिक विधिमा पनि त्यस्तो फरक नपर्ने कोषका कार्यकारी निर्देशक कोषप्रसाद आचार्य बताउनुहुन्छ । शवदाह संस्कार अघि र पछि गरिने सबै विधि विद्युतीय शवदाह गृहमा पनि व्यवस्था गरिएकाले धार्मिक विधिमा कुनै फरक नपर्ने आचार्य बताउनुहुन्छ । बर्नरमा पठाउनु अगाडि शवलाई दागबत्ती दिई दागबत्ती दिने व्यक्तिले नै विद्युतीय प्रणालीको स्वीच अन गर्ने व्यवस्था मिलाइएको छ । अरू धार्मिक विधि पनि धेरै फरक नपर्ने कोषको ठहर छ । धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम भने शवदाह गर्नुअघि र पछाडिका क्रियाकलापमा केही फरक नपरे पनि शवदाहका बीचमा गरिने कृत्यमा केही फरक पर्नसक्ने देखिएकाले शास्त्रसम्मत शवदाह विद्युतीय शवदाह गृहबाट हुन सक्ने बताउनुहुन्छ । शवदाहका बीचमा गरिने घृतधारा र सातवटा समिधा लिएर घुमी चितामा विधिअनुसार हवन गर्ने विधि प्रभावित हुने गौतमको ठहर रहेको छ । शवदाह गरिसकेपछि चिता पखाली छवटा पिण्ड दिनुपर्ने विधि पनि विद्युतीय शवदाह गृहमा प्रभावित हुन सक्ने देखिएको पनि उहाँले बताउनुभयो । कोषका सदस्य सचिव डा टण्डन भने हाम्रा विधि वैदिक मन्त्रोच्चारणबाट नै हुने भएकाले विद्युतीय शवदाह गृहमा धार्मिक विधि प्रभावित नहुने बताउनुहुन्छ । भारतका वैदिक सनातन हिन्दू धर्मावलम्बीले विद्युतीय शवदाह गृहलाई प्रयोगमा ल्याइसकेकाले धार्मिक विधिकै कारण समस्या नपर्ने कोषका कार्यकारी निर्देशक आचार्य बताउनुहुन्छ । हाल भारतको राजधानी नयाँ दिल्ली, कलकत्ता र मुम्बई सहरमा विद्युतीय शवदाह गृह सञ्चालनमा रहेका छन् । नेपालमा २०४० सालतिर काठमाडौँ नगर पञ्चायतले विद्युतीय शवदाह गृह निर्माणको पहल गरे पनि सम्भव हुन सकेको थिएन । कमल चित्रकार नगर पञ्चायत प्रमुख भएका बेलामा ल्याइएको सानो आकारको मेसिन हाल टेकुमा अलपत्र अवस्थामा रहेको नगर पञ्चायतको कार्यकारी प्रमुख भई काम गरी सक्नुभएका कोषका कोषाध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।