जिएमआरलाई माथिल्लो कर्णाली दिने निर्णय, पिटिए स्वीकृत


सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजना विकास गर्नका लागि परियोजनाको विकासकर्ता जिएमआर माथिल्लो कर्णाली हाइड्रोपावर लिमिटेड तथा कर्णाली ट्रान्समिसन प्रालिसँग परियोजना विकास सम्झौता (पिडिए) गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले जलविद्युत् विकास परियोजनासम्बन्धी उक्त निर्णय गरेको सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो । त्यसैगरी केही समयअघि मन्त्रिपरिषद्को निर्णयबाट नेपाल भारतबीच भएको विद्यु्त् व्यापार सम्झौता(पिटिए)को प्रारम्भिक सम्झौतालाई स्वीकृत गरेर सरकारले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा रिजालले बताउनुभयो । त्यस्तै संसदीय समितिको सिफारिसलाई समेत ध्यानमा राखी नेपाल आयल निगम लिमिटेडबाट बिक्री हुने पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारण गर्र्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको तथा शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा अमेरिकी सहयोग नियोगबाट प्राप्त हुने चालिस करोड २० लाख डलर सहयोग स्वीकार गर्ने निर्णय भएको छ । यसैगरी २१ वर्षदेखि ४० वर्ष उमेरका युवालाई व्यावसायिक कृषि कर्जा प्रदान गर्ने कार्यविधिअनुसार चार प्रतिशत अनुदान दिएर छ प्रतिशतभन्दा बढी व्याजदर नलाग्ने गरी कृषि कर्जा दिने निर्णय सरकारले गरेको छ । बुधबार बसेको लगानी बोर्डको बैठकले विभिन्न चरणमा राजनीतिक दल, विभिन्न विज्ञको सल्लाह र सुझावपछि मात्र सरकारले सो निर्णय लिएको उल्लेख गर्दै प्रवक्ता डा रिजालले परिमार्जन गरेर नेपालको पक्षमा भएको निष्कर्षसहित बोर्डले पारित गरेको प्रस्तावलाई सरकारले स्वीकृत गरेको स्पष्ट पार्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

नेपालका लागि सम्पर्क

हिमाल जोशी
मोबाइल न : ९८६४४६०६६७
इमेल : [email protected]